राष्ट्रपति पौडेल भोलि स्वीजरल्याण्ड र जर्मनीको भ्रमणमा जाँदै
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वीजरल्याण्ड र जर्मनीको भ्रमणमा जानुहुने भएको छ ।
परराष्ट्र मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गरेर राष्ट्रपति पौडेलको भ्रमणको बारेमा जानकारी दिएको हो । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को वार्षिक उत्सवलाई सम्बोधन गर्न राष्ट्रपति पौडेल मंगलबार स्वीजरल्याण्ड जानुहुने भएको छ ।
उत्सवमा उहाँले समाजिक न्याय सम्बन्धी एक बहस सत्रमा सम्बोधन गर्ने कार्यक्रम तय भएको हो । स्वीजरल्याण्डका राष्ट्रपतिसँग उहाँले भेटवार्ता समेत गर्नुहुने भएको छ । जर्मनीका राष्ट्रपतिको निमन्त्रणमा राष्ट्रपति पौडेल जर्मनी जान लाग्नुभएको हो ।
राष्ट्रपति पौडेलको भ्रमण टोलीमा सविता पौडेल, परराष्ट्र मन्त्रालयका सल्लाहकार सुरेशचन्द्र चालिसे र राष्ट्रपति कार्यालयका कर्मचारी लगायत हुने भएका छन् ।