देशका ६ प्रदेशमा आज पनि मेघगर्जन/चट्यांगसहित मध्यम वर्षा र हावाहुरीको सम्भावना
काठमाडौं । हाल नेपालमा स्थानीय वायु-पश्चिमी वायु र बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव परेको छ ।
आइतबार बिहान कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो।
आइतबार दिउँसो भने कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली हुने भएको छ । त्यस्तै, बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम मुख्यतया सफा हुने भएको हो।
कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी र बाँकी भू-भागका केही स्थानमा मेघगर्जन/चट्यांगसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ। त्यस्तै, लुम्बिनी, कर्णाली र सदूररपश्चिम प्रदेशका केही स्थानहरुमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको हो ।
आइतबार राति भने कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली हुने भएको छ । त्यस्तै, बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम मुख्यतया सफा हुने भएको हो ।
कोशी प्रदेश र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्यांगसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।