जसपा नेपाल विभाजन सम्बन्धी मुद्दा सर्वोच्चले पूर्ण इजलासमा पठायो
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनसँग सम्बन्धित मुद्दामा सर्वोच्च अदालतले गम्भीर संवैधानिक व्याख्याको विषय देखिएको भन्दै पूर्ण इजलासमा पठाउने आदेश दिएको छ ।
न्यायाधीशद्वय हरिप्रसाद फूयाँल र तिलप्रसाद श्रेष्ठको इजलासले आइतबार बहस सुनेपछि पूर्ण इजलासमा पेश गर्ने आदेश गरेको हो । गत शुक्रबारदेखि न्यायाधीशद्वय फुयाँल र श्रेष्ठको इजलासमा सुनुवाई हुँदै आएको थियो । २ दिनको बहस सुनेपछि सर्वोच्चले ३ न्यायाधीशको पूर्ण इजलासमा पठाएको हो ।
जसपा नेपाल छोडेका अशोक राईसहितका नेताले निर्वाचन आयोगमा अर्को दल दर्ता गर्न निवेदन दिएपछि आयोगले उनीहरूको दल दर्ता गरिदिएको थियो । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो दल छोडेका नेताले दिएको निवेदनको आधारमा अर्को दल दर्ता गर्नु गैरकानूनी भएको दावी गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको हो ।
आफ्नो दल छोडेर जाने ७ जना सांसदलाई सांसदको हैसियतमा कामकाज गर्न रोक लगाउन माग गर्दै यादवले सर्वोच्चमै अर्को रिट पनि दायर गर्नुभएको छ ।