जसपा नेपालको प्रथम राष्ट्रिय महाधिवेशनमा २० हजार मानिस सहभागी हुने, पार्टी फुटाउने अशोक पक्षलाई नबोलाउने
काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रथम राष्ट्रिय महाधिवेशनमा २० हजार मानिसहरुको उपस्थित हुने आयोजकले जनाएको छ ।
शनिबार जसपा नेपालले यहि जेठ २८ गते जनकपुरमा हुने प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा २० हजार मानिसहरु सहभागी हुने पार्टी प्रवक्ता मनिष सुमन बताउनुभएको हो । उहाँले महाधिवेशनमा देश विदेशबाट नेता तथा कार्यकर्ता आउने र अन्य पार्टीका नेताहरूलाई पनि निमन्त्रणा दिएको बताउनुभयो ।
अहिलेसम्ममा केन्द्रका नेताहरू नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेकपा महासचिव नेत्रविक्रम चन्द्र विप्लवले महाधिवेशनमा आउने निर्णय गरिसकेको उहाँको भनाइ छ ।
नेकपा एमालेका अध्यक्ष केपी ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनमतका अध्यक्ष सिके राउतलाई निमन्त्रणा पठाइसकेको उहाँले बताउनुभयो । तर उनीहरूले कार्यक्रममा आउने या नआउने निर्णय नगरेको उहाँले बताउनुभउको छ ।
उनीहरूको आइतबार मात्र निर्णय हुने उहाँले बताउनुभयो । त्यस्तै, गत फागुन २३ गते जसपा विभाजन गरेका अशोक राईको समूहलाई भने महाधिवेशनमा नबोलाउने प्रवक्ता सुमनको भनाइ छ ।
भारतका समाजवादी नेताहरूलाई समेत निमन्त्रणा दिएको उहाँले बताउनुभयो ।जसपा नेपालको केन्द्रीय समितिको निर्वाचन जेठ ३० गते हुने भएको छ । पार्टीको केन्द्रीय निर्वाचन तदर्थ समितिले राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हुने केन्द्रीय समितिको निर्वाचन कार्यपालिका तयार गरिसकेको हो ।
कार्य तालिकाअनुसार जेठ २८ गते सोमबार दिउँसो १ बजे मतदाताको नामावली प्रकाशित, जेठ २९ गते मंगलबार बिहान १० बजेदेखि १२ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुने जसपा नेपालका केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।
प्रमुख बस्नेतले सोही दिन १२ बजेदेखि २ बजेसम्म मनोनयपत्र माथि पर्ने दावी विरोध दर्ता गर्ने, जाँचबुझ गर्ने कार्य हुने र त्यसै दिन ४ बजेसम्म सोउपर निर्णय गरिने बताउनुभएको छ ।
जेठ ३० गते बुधबार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान कार्य हुने उहाँले बताउनुभयो । केन्द्रीय समितिको निर्वाचन सकिएपछि सबै पदको लागि मतगणना एकै पटक हुने प्रमुख बस्नेतले बताउनुभएको हो ।