प्रधानमन्त्री दाहालले आज भारतीय राष्ट्रपति मुर्मूसँग भेट्दै, आजै स्वदेश फर्किंदै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार भारतीय राष्ट्रपति द्रोपदी मुर्मूसँग भेटघाट गर्नुहुने भएको छ ।
प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति मुर्मूसँग सोमबार बिहान ११ बजे भेटघाट गर्नुहुने भएको हो । उहाँले भ्रमणका अवसरमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ।
प्रधानमन्त्री दाहालको सम्मानमा नयाँ दिल्लीस्थित नेपाली दूतावासले सोमबार बिहान चियापानको आयोजना गर्ने कार्यक्रम तय भएको हो । प्रधानमन्त्री दाहाल भारतीय प्रधानमन्त्री मोदीको पद तथा गोपनीयताको शपथ ग्रहण समारोहमा सहभागी हुन आइतबार दिउँसो १ बजे नयाँ दिल्ली जानुभएको थियो ।
प्रधानमन्त्री दाहालको साथमा पुत्री एवं स्वकीय सचिव गंगा दाहाल, कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी र परराष्ट्र सचिव सेवा लम्साल लगायत उच्चपदस्थ सरकारी अधिकारी पनि रहेका हुन् ।
प्रधानमन्त्री दाहाल सोमबार नै स्वदेश फर्कने कार्यक्रम तय भएको छ ।