किन भयो अङ्ग्रेजी, गणित र विज्ञान शिक्षकको अभाव ?
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीको सर्वोदय माविले गणित विषयको शिक्षकका लागि पाँच पटक विज्ञापन आह्वान गर्यो । तर, पाँचौँ पटकसम्म सूचना प्रकाशन गर्दा पनि शिक्षक पाउन सकेको छैन । कसैले पनि दरखास्त नहालेपछि गत पुसदेखि उक्त दरबन्दी रिक्त छ ।
शिक्षकको अभावमा सर्वोदयले अर्को विद्यालयका शिक्षकलाई अतिरिक्त समयमा पढाउने गरी पठनपाठन गराइरहेको छ । छिमेकी मुक्तिमार्ग माविका शिक्षक विमल बरुवाललाई कक्षा १० विद्यार्थीको हकमा बिहान–बेलुकी तथा शनिबार पढाएर कोर्स सक्ने गरी पार्टटाइमको रूपमा नियुक्त गरिएको छ ।
सर्वोदयका प्रधानाध्यापक गोविन्द थापाले दरबन्दीका विषयगत शिक्षक नहुँदा पठनपाठन प्रभावित भइरहेको बताए ।
म्याग्दीकै पूर्ण गाउँस्थित राष्ट्रिय जनजागृति माध्यमिक विद्यालयले दसौँ पटक विज्ञापन गरेर गणित शिक्षकको माग गरेको छ । तर, कसैको दरखास्त परेको छैन ।
त्यस्तै, सोही जिल्लाकै त्रिभुवन मंगला माविले विज्ञान र गणित शिक्षकका लागि सात पटकसम्म विज्ञापन ग¥यो तर कसैले पनि आवेदन दिएनन् ।
म्याग्दीमा धेरैजसो विद्यालयमा संघीय सरकारको अनुदान कोटाबाट शिक्षक नियुक्त गर्न खोजिदा आवेदन नै नपर्ने समस्या देखियो ।
म्याग्दीमा मात्र नभएर देशैभर यस्तो खालको समस्या देखिएको छ । त्यसमा विशेष गरी गणित र विज्ञान शिक्षकको अभाव बढी छ । अङ्ग्रेजी शिक्षकको अभाव पनि उस्तै छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्याङ्कअनुसार देशभर रहेका ७५ प्रतिशत भन्दा बढी सामुदायिक विद्यालयमा विज्ञान, गणित शिक्षकको अभाव छ । निमावि तहमा २८ प्रतिशतमा मात्रै गणित, विज्ञान र अङ्ग्रेजी विषय पढाउने शिक्षक छन् ।
त्यस्तै, मावि तह (कक्षा ९–१०) मा २४ प्रतिशत मात्रै गणित, विज्ञान र अङ्ग्रेजी विषयका शिक्षक छन् । अर्थात् मावि तहमा ७६ प्रतिशत शिक्षकको अभाव छ ।
देशभरका ३५ हजार भन्दा बढी सामुदायिक विद्यालयले गणित, विज्ञान र अङ्ग्रेजी विषय शिक्षकको अभाव झेल्दै आएका छन् ।
२०७५ सालमा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माको संयोजकत्वमा गठित कार्यदलले देशभरका सामुदायिक विद्यालयमा ५२ हजार २८२ शिक्षक अपुग रहेको देखाएको थियो ।