त्रिभुवन विश्वविद्यालयमा तालावन्दी गर्नेहरूको होड कहिलेसम्म ?
त्रिभुवन विश्वविद्यालय गैरविद्यार्थीहरूको तालाबन्दीमा परेको छ । गैरकानूनी रूपमा त्रिवि क्षेत्रमा टहरा बनाएर व्यापार व्यवसाय गर्दै आएकाहरूले तालाबन्दी गरेका हुन् ।
प्रायः विद्यार्थी, शिक्षक, कर्मचारीको तालाबन्दीको सिकार बन्ने त्रिवि यो पटक भने व्यवसायीको तालाबन्दीको मारमा परेको हो । संघर्ष समितिमार्फत् असार ७ गतेदेखि त्रिवि उपकुलपति कार्यालय, प्रिन्सिपल कार्यालय, शिक्षाध्यक्ष र रजिष्ट्रार कार्यालयमा तालाबन्दी गरिएको हो ।
उनीहरूले त्रिविले हटाउन खोजेको टहराहरूमा आफूले विगतकै जसरी व्यापार व्यवसाय गर्न पाउनुपर्ने माग राख्दै आएका छन् । त्रिविका सूचना अधिकारी योगेन्द्र दाहालले २ पटकको वार्ता असफल भएको बताए । ‘सिन भन्दा अनसिन माग धेरै छन् । कीर्तिपुरबासीले रोजगारी पाउनुपर्छ । यहाँ पसल व्यापार व्यवसाय गर्न पाउनुपर्छ भन्ने छ ।हामीले नियमानुसार गर्छौ, जान्छौं भनेर अडानमा छौं,’ उनले भने ।
हाल त्रिविका विद्यार्थी र शिक्षक कर्मचारीबाट तालाबन्दी भने गरिएको छैन । तर विगतको इतिहास हेर्ने हो भने विद्यार्थी संगठन तालाबन्दीका प्रमुख हर्ताकर्ता देखिन्छन् ।
यसमा विशेष गरी, नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, अनेरास्ववियूबाट बढी तालाबन्दी हुने गरेको छ ।
हाल तिनै विद्यार्थी संगठनहरूले तालाबन्दी नगर्ने प्रतिबद्धता जाहेर गरेका छन् । तर, देशभरको अवस्था हेर्दा कतिपय ठाउँका क्याम्पसहरूमा भने तालाबन्दी गरिएको छ ।
चिकित्सा शिक्षाशास्त्र अध्ययन संस्थान महाराजगञ्ज मेडिकल कलेजमा आजदेखि स्ववियुले तालाबन्दी गरेको छ । क्याम्पस प्रमुखले आफ्ना मागहरूबारे बेवास्ता गरेको भन्दै स्ववियुले नै अनिश्चितकालीन तालाबन्दी गरेको हो ।
गत शुक्रबार त्रिवि शिक्षाध्यक्षको कार्यालयमा नेविसंघले तालाबन्दी गरेको थियो । केही समयमा प्रहरी गएर ताला तोडेको थियो भने तालाबन्दी गर्ने नेविसंघका त्रिवि इकाइ अध्यक्ष विष्णु बडैलासहित ५ जनालाईं प्रहरीले पक्राउ गरेको थियो ।