नौबिसे-नागढुङ्गा सवारी जामले बाटोमै बिरामीको ज्यान गयो
(काठमाडौं) नौबिसे–नागढुंगा सडक खण्डकाे सवारी जामका कारण एक बिरामीको बाटाैमै ज्यान गएको छ ।
प्रहरी स्राेतका अनुसार रौतहटबाट काठमाडौँ उपचारका लागि ल्याउँदै गरेका रौतहट गरुडा–८ का ३५ वर्षीय रुपलाल साहको बाटाैमै मृत्यु भएको हो । साह मृगौलाका बिरामी हुन् ।
महानगरीय प्रहरी प्रभाग नौबिसेका अनुसार पृथ्वीरामार्गस्थित महादेवबेँसी बजारमा सवारी जाममा परेको बेला साहको बिहान ५ बजे मृत्यु भएको हो । राति २ बजेबाटै साे सडकखण्डमा जाम सुरु भएको थियाे । बिरामी ना ७ ख ५३६४ नम्बरको गाडीमा काठमाडाैँ आउँदै थिए ।
दुवै मिर्गाैलाले काम गर्न छाडेपछि शाहलाई डायलसिसका लागि सार्वजनिक यातायातमा काठमाडाैँ ल्याइँदै थियो । लामो जाममा १२ घण्टाभन्दा बढी समय कुर्नु पर्दा बिरामीको मृत्यु भएको महादेवबेँसीस्थित जनजागृति माविका शिक्षक रामचन्द्र रुपाखेतीले बताउनुभयो ।
एम्बुलेन्समा ल्याउन पैसा अभाव भएपछि शाहलाई रात्रिबस चढाएर ल्याइँदै थियो । शाहको शव बाटोबाटै रौतहट लैजाने तयारी भइरहेको श्रेष्ठले बताउनुभयो ।आमा, भाइ र दाजुसँगै शाह बसमा काठमाडौँ आउँदै थिए । आमासँगै सिटमा बसेका शाहकमे उनको काखमै मृत्यु भएको हो । सडक मर्मत र ठूला सवारीसाधनका कारण झण्डै ३० किलोमिटर क्षेत्रमा जाम लागेको थियो ।
एम्बुलेन्ससमेत आवतजावत गर्न नसक्नेगरी सडक चार दिनदेखि अवरुद्ध भइरहेको छ । दशैँका लागि घर निस्केका यात्रु बाटोमै अलपत्र छन् । मर्मतका कारण उक्त सडक खण्डको धादिङतर्फ ३० किलोमिटरसम्म दैनिकजसाे घण्टाैँ सवारी जाम हुने गरेको छ ।