शिक्षा आयोगको उपाध्यक्ष नियुक्ति प्रक्रिया तत्काल रोक्न डा. केसीकाे माग
काठमाडौं २६ असार । वरिष्ठ चिकित्सक गोविन्द केसीले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्ति प्रक्रिया तत्काल रोक्न सरकारसँग माग गरेका छन् । केसीले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आयोगको उपाध्यक्ष चयन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै तत्काल सो प्रक्रिया रोक्न सरकारसँग माग गरेका हुन् ।
याेग्य मान्छेलाई स्वतन्त्रतापूर्वक काम गर्न दिने गरी आयोगको उपाध्यक्ष छनोट गर्नुपर्ने उनले बताए ।
केसीले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा योग्य तथा कार्यक्षमता प्रमाणित भइसकेको व्यक्ति नियुक्त गर्न सरकारलाई सुझाव दिए । उनले त्यसो नगरिए सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी पनि दिए ।
त्यस्तै, केसीले मिडिया काउन्सिल विधेयक, सूचना प्रविधि विधेयक र राष्ट्रिय मानवअधिकार आयोगको ऐनसँग सम्बन्धित विधेयक आमनागरिकको मुख थुन्ने गरी आएको दाबी गर्दै तत्काल खारेज गर्न पनि सरकारसँग माग गरे ।